तहल्का नेपाल –

नेकपा
फाइल तस्वीर- नेकपा सचिवालय बैठक

सत्तारुढ दल नेकपाले नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार विहान बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले नेपालीसँग विवाह गरेको विदेशी महिलालाई सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने निष्कर्श निकालेको हो । त्यतिबेलासम्मका लागि स्थायी आवासयीय प्रमाणपत्र दिने व्यवस्था गर्ने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

त्यस्ता विवाहित महिलाले विहेपछि सात वर्षसम्म सामाजिक, आर्थिक, साँस्कृतिक सम्पूर्ण अधिकार हुने गरी आवासीय परिचयपत्र प्रदान गर्ने प्राव्धान कायमै रहेको उहाँले बताउनुभयो । लामो समयदेखि नागरिकता संशोधन विधेयक संसदमा विचराधिन छ ।

नागरिकता विधेयकमा सत्तारुढ नेकपाले लिएको निर्णयलाई लिएर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गम्भीर आपत्ति जनाएका छन् ।  यादवले शनिबार राति सामाजिक सञ्‍जालमार्फत नेकपाको कदमले झन् बढी लैङ्गिक हिंसा, विभेद, अन्याय र असमानता बढाउने बताएका छन् ।

‘सत्तारूढ नेकपाको सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने विवेकहीन, साम्प्रदायिक र विभेदकारी निर्णय गरेको छ,’ यादवले सामाजिक सञ्‍जालमा लेखेका छन्, ‘नागरिकता प्राप्ति गर्ने प्रक्रियामा पुरुष र महिला अर्थात् बुहारी र ज्वाइँबीच असमानता र विभेद हुनुहुन्न । यो ऐन मुख्यतः मधेसी समुदायप्रति लक्षित गरिएको भए तापनि यसले लैंगिक असमानता र जातीय विभेदलाई नै निरन्तरता दिने कार्य गरेको छ । विगतमा प्राप्त गरेको सुविधा, सेवा र अवसरलाई पनि खोस्नु अन्यायपूर्ण कार्य हो ।’ यो कानुन बनेपछि मुलत: नेपाली र भारतीय जनताबीच युगौंयुगदेखि कायम रहेको सामाजिक, सांस्कृतिक र पारिवारिक सम्बन्धलाई भत्काउने र नकारात्मक असर पर्ने यादवको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.