तहल्का नेपाल –

फाइल तस्वीर: दीनानाथ शर्मा

कोरोना महामारीले विश्वलाई गृहबन्दी बनाएको छ महिना हुनथाल्यो । अनुशासित समाज र बलियो सरकार भएका देशमा महामारीबाट जनताको जीवनरक्षा भयो । अराजक, सामाजिक संरचना र जनताको जीवनरक्षाप्रति उदासीन शासनपद्धति भएका देशमा धेरै जनताको ज्यान गयो ।


छिमेकी चीनको वुहानमा कोरोनाको कहर खेपेका विद्यार्थीलाई नेपाल सरकारले समयमै तदारुकताका साथ उद्धार गर्यो । लगत्तै नेपाली जनताको जीवनरक्षाप्रति उच्च प्राथमिकता दिँदै चैत ११ गतेदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय उडान बन्द, सीमा सिल र बन्दाबन्दीको घोषणा गर्यो सरकारले । जनता, उद्यमी, व्यवसायी सबै राजनीतिक दल र अनुशासित र मर्यादित जनताले बन्दाबन्दी र व्यक्तिगत अलगावको नियम कडाइपूर्वक पालना गरे ।
समय बित्दै गयो तर महामारी झन्पछि झन् फैलिँदै गएको छ । दक्षिणतिरको भद्रगोल खुला सीमाबाट रोक्न खोज्दाखोज्दै पनि सङ्क्रमण भित्रभित्रै छिर्दैछ, फैलिँदैछ ।
सरकारसामु अहिले दुईवटा चुनौती छन्– जीवनरक्षाका लागि बन्दाबन्दी र व्यक्तिगत दूरीलाई अझ व्यवस्थित र मर्यादित प्रभावकारी बनाउने अनि श्रमशक्तिलाई परिचालन गर्दै सामाजिक कामलाई व्यवस्थित गर्ने । त्यसैले केही समययता बन्दाबन्दीको स्वरूप परिचालनबारे देशव्यापी बहस चलेको छ ।
सरकारबाट विभिन्न तहमा व्यवसायी, विज्ञसमूहसित छलफल गर्दै सुझाव सङ्कलन गर्ने काम हुँदैछ । आजसम्म नेपालले अपनाएको बन्दाबन्दी सफल छ तर परिवर्तित परिस्थितिमा यसको स्वरूपलाई परिवर्तित र उन्नत बनाउनुपर्छ भन्ने राय आएका छन् । बन्दाबन्दी पूर्णरूपमा खोल्नु पनि हुँदैन, पूर्ण बन्द गरेर सामाजिक आर्थिक व्यवहार पनि चल्दैन । त्यसैले यसलाई थप व्यावहारिक र मर्यादित गराउन मुख्यतः निम्न कुरामा ध्यान दिनु आवश्यक देखिन्छ ।
रोकथाम र उपचारमा जोड
उपचारसित क्वारेन्टाइन, आइसोलेसन आईसीयूसमेतको उचित प्रबन्ध हुनुपर्छ । दक्षिणतिरको खुला सीमाबाट लाखौँ नेपाली देश फर्किरहेका छन् । भारत कोरोना महामारीको चपेटामा छ । भारतबाट फर्किंदै गरेका नागरिकलाई सीमाक्षेत्रमा सुरक्षित र व्यवस्थित क्वारेन्टाइनको व्यवस्था गर्ने, परीक्षणलाई व्यापक बनाउने, नेगेटिभ रिपोर्ट आउनेहरूलाई सम्बन्धित जिल्लाको स्थानीय क्वारेन्टाइनमा पठाउने व्यवस्था मिलाउँदै जानुपर्छ । सङ्घले सीमाक्षेत्रका क्वारेन्टाइनलाई विशेष उपचार तथा सुरक्षा सामग्री, स्वास्थ्य जनशक्ति र पर्याप्त स्रोत साधनको व्यवस्था प्रदेश र स्थानीय सरकारको समन्वयमा गर्नुपर्छ । प्रदेश तथा स्थानीय तहमा परीक्षण किटसहित स्वास्थ्यकर्मी परिचालन र भौगोलिक स्थिति र महामारीको प्रकोप हेरी प्रयोगशालाको व्यवस्था अविलम्ब गर्नुपर्ने देखिन्छ । विशेषगरी प्रदेश २, ५ र सुदूरपश्चिम प्रदेशका सीमाक्षेत्रका जिल्लामा विशेष जोड र अन्य जिल्लामा त्यत्तिकै ध्यान पुर्याउन जरुरी छ ।
बढी सङ्क्रमित जिल्लाहरूमा बन्दाबन्दीलाई अझै केही समय कडाइ र परीक्षणलाई तीव्रता दिनुपर्ने देखिन्छ । सुदूरपश्चिम प्रदेशमा स्रोत साधन, स्वास्थ्य उपकरणको अभाव भएको कुरा आएको छ । आवश्यक औषधि, उपकरण सुरक्षासामग्री स्रोत पर्याप्त जनशक्तिको परिचालन सङ्घबाटै गरिनुपर्छ । महामारीको बढी प्रकोप भएको क्षेत्र र अरू क्षेत्रको मापदण्ड एउटै हुनुहुँदैन ।
देशलाई अब भौगोलिक रूपले तीन क्षेत्रमा विभाजित गर्नुपर्छ– लाल क्षेत्र, जहाँ बढी सङ्क्रमणको महामारी छ त्यसमा विशेष सहयोग प्याकेजको प्रबन्ध गर्ने । दोस्रो, अहिलेसम्म कोरोनाको सङ्क्रमण नपुगेका हिमाली जिल्लाहरूलाई हरितक्षेत्र घोषणा गरेर बन्दाबन्दीको नियम पालना गर्दै पूर्णरूपमा खुला गर्ने र विद्यालय सञ्चालन गर्नु उपयुक्त हुन्छ । ती जिल्लामा असोजपछि स्वतः बन्द हुने भएकाले पठनपाठन सुचारु गर्नु व्यावहारिक हुन्छ । तेस्रो पहेँलो क्षेत्र, कम प्रभावितमध्ये पहाडी जिल्लामा पनि त्यसै अनुसारको प्रबन्ध गर्नुपर्छ ।
स्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य महाशाखालाई सक्रिय बनाउँदै कोरोना महामारीविरुद्ध कसरी लड्ने भन्नेबारेमा स्वास्थ्य चेतनाको प्रचारप्रसारको परिचालन गर्नुपर्छ । पहिलो काम जनताको जीवनरक्षा हो । जीवन रहे अर्थतन्त्रको विकास हुन्छ । जीवन नै छैन भने केका लागि सम्पत्ति ? जनस्वास्थ्य र जनचेतनाका लागि अभियान अनिवार्य छ ।
उत्पादन कार्य
कृषिमा आधारित अर्थतन्त्रको रक्षाका लागि अब जनतालाई खेतबारीमा फर्काउनुपर्छ । सधैँ घरभित्र बसेर खेतमा धान रोपिँदैन । त्यसैले बन्दाबन्दीको आधारभूत मान्यताको पालना गर्दै किसानलाई कृषि व्यवसायमा फर्किने वातावरण बनाउनुपर्छ । भारतबाट फलफूल र तरकारीका मालवाहक सवारी आउन छुट पाउने तर आफ्नै देशको पहाडी हावापानीमा उब्जेका सागसब्जीलाई बजारसम्म पुग्न रोक लगाउने र कतिपय स्थानीय तहमा नष्ट गर्न लगाएको दुःखद समाचार आएका छन् । यहीँका कृषि उपजहरूले कोरोना सङ्क्रमण फैलिँदैन । त्यसैले कृषि उत्पादन ओहोरदोहोर गर्न सीमित यातायातलाई सबै तहका सरकारको निगरानीमा सबै प्रकारको मापदण्ड र स्वास्थ्य सुरक्षाको प्रबन्धसहित खुला गर्नुपर्छ ।
त्यस्तै मजदुरहरूको स्वास्थ्य सुरक्षाको पूर्ण प्रत्याभूतिसहित साना ठूला उद्योग सञ्चालन गर्ने वातावरण पनि बनाउनुपर्छ । उद्यमी व्यवसायीले मजदुरको स्वास्थ्य सुरक्षाको राम्रो प्रबन्ध मिलाउनुपर्छ । सरकारले समन्वय र नियमन गर्ने प्रबन्ध मिलाउनुपर्छ । अर्थतन्त्र चलायमान गर्न उद्योग सञ्चालनमा ल्याउनु अनिवार्य छ । यसले बेरोजगार श्रमिकहरूलाई रोजगारीमा फर्काउनेछ ।
कतिपय ठूला आयोजनाहरू बन्दाबन्दीको समयमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सञ्चालनमा छन् । निर्माण व्यवसायीहरूले आयोजना समयमै सम्पन्न गर्न अब मजदुरहरूलाई काममा फर्काउनुपर्छ । उनीहरूको खाने बस्ने समुचित प्रबन्ध मिलाउने स्वास्थ्य परीक्षण सतर्कता अपनाउँदै आयोजना सञ्चालन गर्न सरकारले सहजीकरण गर्नुपर्छ । सधैँ राहत बाँडेर बस्न मिल्दैन । जीवनरक्षाको अर्को अभिन्न र महत्वपूर्ण पक्ष भनेको उत्पादन र श्रम परिचालन पनि हो । स्वास्थ्य र श्रम एकआपसका परिपूरक हुन् । राष्ट्रलाई भोकमरीबाट रक्षा गर्न श्रम सम्बन्धलाई जोड्नुपर्ने समय हुँदैछ ।
आपूर्ति ब्यवस्था
आपूर्ति व्यवस्थालाई राज्यले सहजीकरण गर्नुपर्छ । बजार व्यवस्थापन, ढुवानीलाई बढी व्यवस्थित र मर्यादित गराउनु अनिवार्य छ । ढुवानीमा असहजता भन्दै कृत्रिम अभाव, कालोबजारी र जम्माखोरी जस्ता नाजायज विकृतिमा सरकारको ध्यान जानु आवश्यक छ ।
बन्दाबन्दी समग्ररूपमा खोल्ने बेला अझै भएको छैन । दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या थपिँदैछ र मृत्यु हुनेको सङ्ख्या पनि थपिँदैछ । सिनेमा घर, पार्टी प्यालेस र रेस्टुरेन्टहरू खुला गर्ने समय अझै भएको छैन । जनताका दैनिक उपभोगका अत्यावश्यक सामान किनबेच गर्न अहिलेसम्म रोकिएको पनि छैन । बजार, सार्वजनिक यातायात केही समय खोल्नुहुँदैन । सीमामा कडाइ गर्नुपर्छ र भारतीय नागरिकको अवैध आवागमन पूर्ण रूपमा बन्द गरिनुपर्छ । परिपत्रका आधारमा आवतजावतको प्रबन्ध मिलाउनु उचित हुन्छ ।
शिक्षण संस्थाहरू खोल्ने बेला अझै भएको छैन । कोभिड १९ को महामारी भर्खरै पहाडतिर सर्दैछ । नेपालमा कोरोनाका सङ्क्रमण बालबालिका, विशेष युवा समूहमा बढी भेटिएको छ । बालबालिकालाई पूर्ण स्वास्थ्य सुरक्षाको प्रत्याभूतिसहित पठनपाठन गराउने प्रबन्ध मिलाउन सम्भव छैन । अनलाइन शिक्षा, रेडियो वा अरू केके थरी कुरा पनि आएको छ, त्यो व्यावहारिक कति हुनसक्छ जिम्मेवारहरूले ध्यान पु¥याउनुपर्छ । कुन वर्गका लागि यो कुरा
हुँदैछ ? यसले शिक्षामा झन् ठूलो खाडल पैदा गर्न सक्छ ।
सरकारले कोरोना सङ्क्रमित विभिन्न देशबाट नेपाली नागरिकलाई ल्याउँदैछ । कोरोना विश्वभर जहाजबाट यात्रा गर्दैछ । स्थलमार्गबाट छिरेकाले यति सताएको छ भने हवाईजहाजबाट सयर गर्ने कोरोनाले सम्पन्न देशका सम्भ्रान्तलाई पनि छोड्दैन । त्यसैले क्वारेन्टाइनको राम्रो प्रबन्ध मिलाउनुका साथै स्वास्थ्योपचारको समुचित प्रबन्ध व्यवस्थापन गर्नु आवश्यक देखिन्छ ।
नेपालले समयमै बन्दाबन्दीको घोषणा ग¥यो । महामारीविरुद्धको युद्धमोर्चा सरकारले समयमै सम्हालेको हुँदा सङ्क्रमण र मृत्युदर नियन्त्रण गर्न अहिलेसम्म सफल भएको छ । पछिल्ला दिनको परीक्षणबाट तीव्रतासाथ सङ्क्रमित सङ्ख्या बढेको देखिएको छ । मृत्यु हुनेको सङ्ख्या पनि थपिँदैछ । त्यसैले बन्दाबन्दी कडाइ गर्नुपर्नेछ । अर्कोतिर हात बाँधेर बस्दा मुखमा माड नलाग्ने स्थिति पनि छ । सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने कौशल प्रदर्शन गर्नुपर्ने चुनौती छ । बन्द पनि खुलाको द्वन्द्ववाद लागु गर्न सिपालु हुनुपर्ने चुनौती छ अहिले ।

( गोरखापत्रवाट साभार,  लेखक राष्ट्रिय सभामा सत्तापक्षका नेता हुनुहुन्छ ।) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.