तहल्का नेपाल –

नेपाली काँग्रेस पार्टीको शनिबार सम्पन्न केन्द्रीय समितिको बैठकले सरकारबाट प्रस्तुत गरिएको संविधान संशोधनको प्रस्तावलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको हो । बैठकपछि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले संविधान संशोधनको पक्षमा पार्टीले साथ दिने निर्णय गरेको जानकारी दिएका हुन् ।

शनिबार सम्पन्न केन्द्रीय समितिको बैठकले परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।
संसद्मा प्रमुख प्रतिपक्षको भूमिकाका रहेको काँग्रेसको यो निर्णयसँगै सरकारलाई संविधान संशोधनको विधेयकलाई संसद्बाट पास गराउन बलियो आधार मिलेको छ । सरकारले यस विषयमा राष्ट्रिय सहमति कायम गर्न कोसिस गर्नुपर्नेमा काँग्रेसले जोड दिएको छ । तर पार्टी जनुसुकै अवस्थामा पनि संविधान संशोधनको पक्षमा उभिने निचोडमा काँग्रेस पुगेको वैठकमा सहभागी केन्द्रीय सदस्यहरुले जानकारी दिएका छन् ।

बैठकको प्रारम्भमा पार्टी सभापति शेरबहादुर देउवाले कालापानी, लिपुलेक, लिम्पियाधुराको भूभाग नेपालकै भएको उल्लेख गर्दै त्यसलाई विभिन्न प्रमाणले पुष्टी गरेको विचार व्यक्त गरेका थिए । यस विषयमा सरकारले संसद्मा ल्याएको विधेयकलाई सकारात्मक रुपमा लिनुपर्छ भन्दै देउवाले सरकारले संविधान संशोधनको विषयमा यसअघि पार्टीसित आवश्यक समन्वय भने नभएको गुनासो समेत गरेको वैठकमा सहभागी नेताहरुले जनाएका छन् । संविधान संशोधनका विषयमा खुलेर धारणा राख्न केन्द्रीय सदस्यहरुलाई देउवाले आह्वान समेत गरेका थिए । त्यसपछि पार्टीका दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्यले यस विषयमा आ आफना धारणा प्रस्तुत गरेका थिए । काँग्रेस पार्टीले यस अघिको पदाधिकारीको बैठकले संविधान संशोधनको पक्षमा उभिने भन्दै यस विषयको अन्तिम निर्णय केन्द्रीय समितिको बैठकबाट गर्ने निर्णय गरेको थियो । सोही अनुसार शनिबार पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.