सन्जु अधिकारी

विचार

चैत महिनाको पहिलो हप्तादेखि औपचारिक शिक्षाको माध्यम ठप्प छ। विद्यालय र कलेजका शैक्षिक सत्रको वार्षिक परीक्षा लगभग सकिएको थियो भने एसईई परीक्षा सुरु हुन पाएन। विश्वलाई नै आक्रान्त पारेको कोभिड– १९ भाइरसको महामारीबाट बच्न र बचाउन नेपालमा पनि गत चैत ११ गतेदेखि लकडाउन अर्थात् बन्दाबन्दी लगाइयो।

संसारभरमा यो रोगको संक्रमण शैली हेर्ने हो भने यो रोगले कुन रूप, कति संख्यासम्म र कहिलेसम्म प्रभाव पार्छ भनेर आकलन गर्न मुस्किल छ। स्वास्थ्य प्रमुख प्राथमिकता हो, त्यसैले सम्भावित महामारीलाई निर्मूल पार्न हर तरहको कोसिस जरुरी छ। अत्यावश्यक सेवासमेत खुकुलो हुन नसकेको स्थितिमा अति संवेदनशील शिक्षा क्षेत्र छिटै सुचारु हुने अवस्थामा छैन। यस्तो लाग्छ– अर्को एक वर्ष पनि स्कुल–कलेजका नियमित कक्षा नहुन सक्छन्। विदेशमा कतिपय विश्वविद्यालयले आगामी शैक्षिक वर्षसम्म कलेज आउनुनपर्ने गराइसकेका छन्।

विगत दुई महिनादेखि बन्द भएको शैक्षिक क्षेत्रलाई लिएर अभिभावक वर्गमा चिन्ता छाउनु स्वाभाविक हो। एकातिर ज्यानको माया भने अर्कातिर पढाइ। विद्यार्थी भर्नाको काम हुन सकेन भने पठनपाठन पनि ठप्प हुने पक्का छ। कतिपय विद्यालय, शैक्षिक संस्थाहरूले इन्टरनेटको माध्यमबाट डिस्ट्यान्स लर्निंङ सुरु गरेका छन्, जुन सबैका लागि सम्भावना छैन। सहरका केही विद्यार्थीमा सीमित यस्ता कक्षाले निकट भविष्यमै समस्या ल्याउने पक्का छ।

यस्ता कक्षाहरूमा शिशु कक्षाका विद्यार्थीलाई अभिभावकको उपस्थितिमा केही पढाइ र केही क्रियाकलाप गराएको पाइयो। यस किसिमका कक्षा नयाँ आयाम पक्कै पनि स्वागतयोग्य छन् तर पर्याप्त भने छैनन्।

केही अपवाद छाडेर संसारभरि औपचारिक शिक्षा प्रणालीमा अनिवार्य उपस्थिति भएर पूरा गरिने पढाइ र त्यसपछि प्राप्त प्रमाणपत्रलाई कानुनी र सामाजिक मान्यता दिइएको छ। शैक्षिक मनोविज्ञानमा स्थापित मापदण्डहरूले पनि विद्यार्थीको शारीरिक, मानसिक, बौद्धिक तथा सामाजिक विकासलाई जोड दिएको छ। औपचारिक चौघेराका व्यवस्था केही समय बन्द हुँदा विद्यार्थी र अभिभावक वर्गमा चिन्ता छाएको देखिन्छ। यस्तो विषम परिस्थितिको वर्तमान परिवेशमा शिक्षा क्षेत्रमा संलग्न सम्पूर्ण पक्ष समाधान र विकल्पको खोजिरहेका छन् र खोजिन पनि पर्छ।

अब बदलिँदो परिवेशमा हामी आजका अभिभावकले औपचारिक प्रमाणपत्रबाट मात्र शिक्षा प्राप्त हुन्छ भनेर सोच्नु हुँदैन। बालबालिकाको चौतर्फी विकासको सबैभन्दा उपयुक्त पाठशाला घर नै हो। अनुशासनको घेराबन्दीले बालबालिकालाई निस्फिक्री भएर प्रस्तुत हुनबाट वञ्चित गरेको हुन्छ। अहिलेको विषम परिस्थितिको छुट्टीमा हामीले आफ्ना बालबालिकालाई पाठ्यपुस्तक बाहिरका ज्ञान प्रदान गर्न सक्छौं। कतिपय अभिभावक कामकाजमा हुनुहुन्छ, कतिपय घरबाटै काममा संलग्न हुनुहुन्छ भने केही पूर्णरूपमा छुट्टीमा हुनुहुन्छ। केही महिनाको पठनपाठनको यो ब्रेकलाई झन्झट, बोझ या समस्याको रूप नलिई पनि फलदायी बनाउन सकिन्छ।

पाठ्यक्रमका सम्पूर्ण विषयमा पोख्त नै हुन जरुरी नहुने, घोकन्ते तरिकाले विद्या आर्जनको औचित्य पूरा नहुने, बालबालिकालाई कम्प्युटरलगायतका स्क्रिनमा धेरै एक्पोस गराउन नहुने तथा अनलाइन शिक्षा प्रणाली सबै स्थानमा सहज नहुनेजस्ता यथार्थलाई पनि हामीले बुझ्नुपर्छ। बालबालिका उत्कृष्ट हुनुभन्दा बाबुआमा र बालबालबालिका बीचको सम्बन्ध उत्कृष्ट हुन जरुरी छ।

हाम्रा बालबालिका हामीसँग आत्मीयता महसुस गर्न सकेनन् भने कहिल्यै खुल्ने छैनन्। खुलेर अघि बढ्न सकेनन् भने आत्मविश्वासी हुने छैनन् र आत्मविश्वासको कमीमा उनीहरूले संसारसामु खरो उत्रिन सक्दैनन्।

आफ्नो बालबालिकालाई कुनै नापतौल नगरी माया गरेर हेरौं, उनीहरूसँगै दौडौं, खेलौं, कार्टुन हेरौं, चित्र बनाऔं अनि निस्फिक्री हाँसौं। ससाना नानीबाबुलाई कहिलेकाहीं हल्ला गर्दा या चिच्याउँदा पनि खुब रमाइलो मान्छन्, उनीहरूलाई चिच्याउन दिँदा स्वतन्त्र भएको महसुस गर्छन्। केही दिन उनीहरूको साथी बनेर उनीहरूका कुरा सुनौं। आफूभित्रको बचपनालाई जगाएर उनीहरूसँग घुलौं। हाँसेर र मीठो बोलेर पनि अनुशासन र ज्ञान दिन सकिन्छ।

व्यक्तिगत जीवनमा अत्यन्त जरुरी पर्ने सरसफाइ, खानपान र घरव्यवहारका कुरामा घुलमिल गराउँदा पछिसम्म बालबालिकालाई आत्मनिर्भर बन्न मद्दत गर्दछ। अलि उमेर पुगेका बालबालिकालाई आफू सँगसँगै राखेर बजेट बनाउन, किनमेल गराउन, सरसफाइ गर्न, कपडामा इस्त्री लगाउन, भान्सा सम्हाल्न, खेतबारी या बगैंचामा काम गर्न, पशुपक्षीको स्याहार गर्न, रङरोगन गर्न, सवारी साधन सरसफाइ गर्नजस्ता अनेकौं काममा सहभागी गराउन सकिन्छ। त्यति मात्र नभई आफ्ना बालबालिकासँग यौनका बारेमा कुरा गर्ने बेला पनि यही नै हो। पाँच वर्षमुनिका केटाकेटीलाई आफ्नो सरसफाइ गर्न, गोप्य रहनुपर्ने चालचलन बुझ्न र सुरक्षाबारे सचेत रहन सिकाउन सकिन्छ। किशोरावस्था पुग्न लागेका केटाकेटीलाई यौनका सही ज्ञान दिनु उचित हुन्छ। उनीहरूलाई नैतिकता, राज्य संरचना, साधारण राज्य व्यवस्था, स्वास्थ्य, आफूले मानिआएका धर्म–संस्कृतिका आधार तथा प्राकृतिक चक्रका विषयमा बुझाउन सकिन्छ। शिक्षित अभिभावकले नयाँ किताब पढ्न दिएर, त्यसबारे भन्न लगाउँदा विशेष फाइदा मिल्छ।

वैदेशिक रोजगार र सहरतिरको बसाइले अझै पनि धेरै बालबालिका बाजेबज्यैै या आमाको अभिभावकत्वमा छन्। कतिपय अभिभावक निरक्षर छन् भने कति साक्षर मात्र छन्। यस्तो अवस्थाका अभिभावकका लागि विशेष पहल हुन जरुरी देखिन्छ। बन्दाबन्दीको समयमा कसरी बालबालिकालाई घरकै व्यावहारिक ज्ञान दिने, कुलतको भीडमा मिसिनबाट कसरी जोगाउने भन्नेबारे चेतना फैलाउन जरुरी छ। उनीहरूका लागि रेडियो या टीभीमार्फत चेतनामूलक सन्देश छर्न सकिन्छ। सामाजिक दूरी कायम राखी स्थानीय तहमा संलग्न शिक्षक वर्ग, स्वयंसेवक तथा जनप्रतिनिधिमार्फत सही दिशा देखाउनुपर्छ।

जिन्दगीका हरेक यथार्थसँग सही परिचय गराउनु, सजक गराउनु र विवेकशील बनाउनु बालबालिकाका लागि हितकारी हुन्छ।

यसले उनीहरूलाई भविष्यमा पनि आफ्नो काम आफैं गर्न अग्रसर गराउँछ। यसरी नै परिवारका माझमा बालबालिकाले नरम र शिष्ट बोलीचालीको बानी पार्न सकिन्छ। आफन्तसँगको फोनवार्ता, टोल, समाजका भेला या सामाजिक क्रियाकलापमा सहभागी गराएर सामाजिक विज्ञान सिकाउन सकिन्छ। उनीहरूलाई मन परेका केही किताब दिनहुँ केही पढ्ने र केही पाना सिर्जनात्मक लेख लेख्ने अभ्यास गराउँदा एकोहोरो पढाइको वितृष्णा हट्न मद्दत गर्छ। सबेरै उठ्ने र शारीरिक व्यायाम तथा खेलकुदमा आफूसँगै खेलाउँदा शारीरिक रूपमा स्वस्थ र स्फूर्त बनाउन तल्लीन बनाउँछ। यो समय स्वस्थ जीवनका लागि जरुरी खानपान, व्यायाम तथा सजकताबारे शिक्षा दिनका लागि पनि खेलकुद समय उपयुक्त हुन्छ।

सही र गलतको व्याख्या गर्न सक्ने बनाउनका लागि उनीहरूलाई अध्ययन, निरीक्षण र विश्लेषण गर्न सक्ने बनाउन जरुरी रहन्छ। यसका लागि स्वतन्त्र पठनपाठन र चिन्तनको आवश्यकता पर्छ। त्यसैले हरेक दिन साँझ–बिहान बाहिर खुला स्थानमा बसेर मौन वातावरणमा बालबालिकालाई राख्नुहोस्। त्यो शान्त परिवेशमा बालबालिकाले प्रकृतिलाई नियाल्न सिक्छ, गहिरिएर सोच्न, खुलेर बोल्न र अन्तरक्रिया गर्न सिक्छ। कहिलेकाहीं केही नगरी, केही नबोली सँगै बस्दा मात्र पनि बाबुआमाले आफ्ना बालबालिकालाई जीवनका धेरै कुरा सिकाउन सक्छन्।

बदलिँदो मानव सभ्यतामा हामीले हिजोजस्तो खुला ठाउँ, स्वच्छ वातावरण र सुरक्षित माहोल दिन सक्ने अवस्था छैन। हामी आफ्नो अस्तव्यस्त दैनिकीमा उनीहरूको बालापन सम्झौता गराउँछौं। बिहान आँखा मिच्दैको बालबालिकालाई विद्यालय पठाएर बेलुकासम्म अरूका भरमा छाड्ने गरेका छौं। साँच्चै भन्ने हो भने हामी आधुनिक वर्गका बाबुआमाले छोराछोरीलाई पैसा र सुविधाबाहेक केही दिन सकेका छैनौं। हामीले जन्म दिएर आफ्नो बालबालिकालाई बुझ्न समय दिएनौं भने संसारको कुनै पनि शैक्षिक संस्थाले पैसा लिएका भरमा उनीहरूलाई बुझ्ने र बुझाउने जिम्मेवारी लिन सक्दैन। त्यसैले बाध्यात्मक देखिएको लकडाउनका केही महिनाको अवधिमा बालबालिकालाई दिने सबैभन्दा ठूलो उपहार भनेको बाबुआमाको समय नै हो। उनीहरूका लागि चाहिने खुसी पैसाले हैन ममता र विश्वासले किन्न सकिन्छ।

हरेक बालबालिकाको जन्मसिद्ध गुण, रुचि, खुबी र क्षमता पृथक् हुन्छन्। आफ्ना बालबालिकालाई सही ढंगले चिनेर उनीहरूको वृत्ति विकासमा सहयोग गर्नु हरेक अभिभावकको जिम्मेवारी हो। हरेक क्षेत्रमा निपुण हुनुपर्छ भन्ने मानसिकताबाट बाहिर निस्किएर हामीले जीवन दर्शन खोज्नुपर्छ। केही महिना या भनौं एक वर्ष नै औपचारिक शिक्षा रोकिए पनि बालबालिकालाई कालान्तरमा खासै फरक पार्दैन। जिन्दगीभन्दा ठूलो पाठशाला कुनै छैन र अनुभवजति प्रभावशाली कुनै शिक्षक हुँदैनन्। त्यसैले जिन्दगीका हरेक यथार्थसँग सही परिचय गराउनु, सजक गराउनु र विवेकशील बनाउनु बालबालिकाका लागि हितकारी हुन्छ। भविष्यका लागि अति उपयोगी ज्ञान हामीले हाम्रै रोहबरमा उनीहरूलाई सिकाउन सकिन्छ।

(अन्नपूर्ण पोष्ट वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.